फर्साटिकर । शुरुवातदेखि समापनसम्म उत्कृष्ट प्रदर्शन गरेको आयोजक फर्साटिकर युवा क्लबले यहाँ सम्पन्न शुद्धोधन गाउँपालिका १२औं फर्साटिकर कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
बुधबार सम्पन्न फाइनलमा फर्साटिकरले अभिषेक चर्च फुटबल क्लब, नवलपुरलाईलाई पेनाल्टी शुटआउटमा हराउँदै घरेलु मैदानमा उपाधि जित्न सफल भएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।
फर्साटिकर मैदानमा भएको निर्धारित समयको खेलतर्फ फर्साटिकरका लागि आशिष राना र अभि लामाले गोल गरे भने अभिषेक चर्चका लागि दुवै गोल एरोन थापाले गरे । यद्यपि पेनाल्टी शुटआउटमा भने फर्साटिकरले नतिजा ४–३ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
विजेता बनेको फर्साटिकरले उपाधिसहित नगद ३ लाख ५ हजार हात पार्यो भने उपविजेता अभिषेक चर्चले नगद १ लाख ५० हजार ५ रुपैयाँसहित ट्रफी र मेडलमा चित्त बुझाउन बाध्य बन्यो ।
फर्साटिकरका गोलरक्षक तथा कप्तान शुभांकर जिसी फाइनल खेलको म्यान अफ दि म्याच र प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चुनिए । शुद्धोधन खेलकुद विकास समितिका कप्तान सौरव गिरी उदीयमान खेलाडी बन्दा भैरव एफसी, नवलपरासीका सुरज आले मगरले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारे । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भने फर्साटिकरका नरेन्द्र चौधरी घोषित भए ।
विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी शुद्धोधन गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद बस्याल, आयोजक फर्साटिकर युवा क्लबका संरक्षक चक्र बहादुर कुँवर, क्लब अध्यक्ष मुकेश कुँवर, अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय उपाध्यक्ष दिर्घ बहादुर केसी (कुमार), रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन लगायतले पुरस्कृत गरेका थिए ।
फर्साटिकर युवा क्लब, शुद्धोधन–४, फर्साटिकरको आयोजनामा पुस २० गतेदेखि शुरु भएको प्रतियोगितामा रुपन्देही, नवलपरासी, पाल्पा, नवलपुर र भारतको एक टोली गरी कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।