News भुवनको निर्णायक गोलमा सतिसालेलाई उपाधि
गोलनेपाल

नक्सलबारी । झिनो अन्तरको जित निकाल्दै यहाँ सम्पन्न पाँचौं माघे संक्रान्ती कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि सतिसाले स्र्पोटिङ क्लब, मोरङले जितेको छ ।

फाइनलमा घरेलु टोली नक्सलबारी फुटबल क्लब, मोरङलाई शून्यका विरुद्ध १ गोलले हराउँदै सतिसाले च्याम्पियन बनेको हो । खेलको २०औं मिनटमा भुवन बस्नेतले गरेको एक मात्र गोल सतिसालेलाई उपाधि जिताउन निर्णायक गोल बन्यो ।

विजेता बनेको सतिसालेले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्यो भने उपविजेता नक्सलबारीले ५०,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । सतिसालेका भुवन बस्नेत फाइनल खेलको म्यान अफ दि म्याच चुनिए ।

अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक सतिसाले कै बिपुल मगर बन्दा उत्कृष्ट डिफेन्डर पनि सतिसाले कै डेनियल चुनिए । उत्कृष्ट मिडफिल्डर पनि सतिसाले कै उमेश मगर घोषित हुँदा उत्कृष्ट फरवार्ड नक्सलबारीका अमित मिश्र बने ।

उत्कृष्ट प्रशिक्षक सतिसालेका बम बहादुर मगर बन्दा नक्सलबारीका सुबर्ण श्रेष्ठ राईजिङ्ग प्लेयर बने । सर्वाधिक गोलकर्ताको पुरस्कार भने समान ४–४ गोल गरेका नक्सलबारीका रोहन गुरुङ्ग र सतिसालेका भुवन बस्नेतले संयुक्त रुपमा हात पारे ।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने नक्सलबारीका अनुराग परियार घोषित भए । विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी बेलबारी नगरपालिका, मोरङकी उपमेयर नितु थापा कोइराला लगायतले पुरस्कृत गरे ।

नक्सलबारी फुटबल क्लब, मोरङको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा कोशी प्रदेशका कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments