News आयोजक फर्साटिकर फाइनलमा
सुरज राना मगर

फर्साटिकर । संघर्षपुर्ण जित निकाल्दै आयोजक फर्साटिकर जारी शुद्धोधन गाउँपालिका १२औं फर्साटिकर कप अन्तर्राष्ट्रिय आमन्त्रण खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको पहिलो सेमिफाइनलमा फर्साटिकरले भैरव फुटबल क्लब, नवलपरासीलाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधि नजिक पुगेको हो । त्यसअघि फर्साटिकर खेलमैदानमा भएको निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुुंगिएको थियो ।

निर्धारित समयतर्फ फर्साटिकरका लागि गणेश हमालले गोल गरेका थिए भने भैरवका लागि सजिन थापा मगरले बराबरी गोल फर्काएका थिए । यद्यपि पेनाल्टी शुटआउटमा फर्साटिकरले ४–२ ले नतिजा आफ्नो पक्षमा पार्दै फाइनल प्रवेश गर्न सफल भयो ।

खेलमा पेनाल्टी शुटआउटमा दुई पेनाल्टी प्रहार जोगाएका फर्साटिकरका गोलरक्षक सुभांकर जिसी म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत पुस २९ गते सोमबारको दोस्रो सेमिफाइनल खेल अभिषेक चर्च, रजहर र गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवल बीच हुनेछ ।

फर्साटिकर युवा क्लब, फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार ५ रुपैयाँ प्राप्त गर्ने आर्थिक संयोजक सिद्धान्त भट्टराईले जानकारी दिए । फाइनल खेल माघ २ गतेका दिन हुनेछ ।

Post Comments