News हाम्रो धरान, भोजपुर र भरौल भेट्रान सेमिफाइनलमा
गोलनेपाल

भरौल । हाम्रो धरान भेट्रान, सुनसरी, भोजपुर भेट्रान, भोजपुर र आयोजक भरौल भेट्रान क्लब, भरौल यहाँ जारी तेस्रो भरौल भेट्रान गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बराहक्षेत्र–५, सुनसरी स्थित भरौल खेलमैदानमा भएको दोस्रो क्वाटरफाइनलतर्फ हाम्रो धरानले पूर्वेली भेट्रान क्लब, झापालाई ३–१ ले हरायो । हाम्रो धरानका लागि सतिष केसीले दुई गोल गर्दा थप एक गोल विपक्षी टोलीका मोहन गुरुङले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए ।

उता पूर्वेली भेट्रानका लागि भने नगेन लिम्बुले एक मात्र गोल फर्काएका थिए । खेलमा दुई गोल गरेका हाम्रो धरान भेट्रानका सतिष केसी म्यान अफ दि म्याच घोषित भए ।

त्यस्तै तेस्रो क्वाटरफाइनलतर्फ भोजपुर भेट्रानले सिक्किम ब्वाईज, भारतलाई ३–० ले हरायो । भोजपुरका लागि सुरज श्रेष्ठले दुई गोल गर्दा जागेश्वर चौधरीले एक गोल गरे । खेलमा दुई गोलकर्ता भोजपुरका सुरज श्रेष्ठ म्यान अफ दि म्याच बने ।

त्यसैगरी चौथो क्वाटरफाइनलतर्फ भरौल भेट्रानले मिल्स भेट्रान क्लब, मोरङलाई ४–० ले हरायो । भरौलका लागि बिशाल राईले दुई गोल गर्दा अंकुर खड्गी र बिमल कार्कीले एक–एक गोल गरे । खेलमा भरौलका अंकुर खड्गी म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत पुस २५ गते बिहीबार दुई सेमिफाइनल खेलहरु हुनेछन् । १ बजे हुने पहिलो सेमिफाइनलमा हाम्रो धरान भेट्रान, सुनसरीले भोजपुर भेट्रान, भोजपुरको सामना गर्नेछ भने २ः३० बजे हुने दोस्रो सेमिफाइनलमा भरौली भेट्रान, सुनसरीले उर्लाबारी भेट्रान, मोरङसँग खेल्नेछ ।

भरौल भेट्रान क्लब, बराहक्षेत्र–५, कालाबञ्जर, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल पुस २७ गतेका दिन हुनेछ ।

 

Post Comments