News बाँके जिल्ला स्तरीय मेयर कप माघ पहिलो सातादेखि
गोलनेपाल

नेपालगन्ज । बाँके जिल्ला फुटबल संघको आयोजनामा हुने मेयर कप पुरुष फुटबल प्रतियोगिता माघको ५ गतेदेखि शुरु हुने भएको छ ।

बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य भोजराज शाहीको अध्यक्षतामा बसेको बैठकले नेपालगन्ज रंगशालामा प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

प्रतियोगिताको तयारी सुरु भैसकेको अध्यक्ष शाहीले बताए । यसपटक महिला र पुरुष मेयर कप फुटबल प्रतियोगिता छुटा–छुटै मितिमा आयोजना गर्न लागिएको समेत उनले जानकारी दिए ।

बाँके जिल्ला फुटबल संघले दुई दशक देखि आयोजना गर्दै आएको मेयर कप फुटबल प्रतियोगितामा बाँके जिल्लाका ८ स्थानीय तहका निजी तथा सामुदायिक विद्यालयहरुको सहभागिता हुने गरेको छ ।

विद्यालय स्तरको प्रतियोगिताले नयाँ खेलाडीलाई अवसर प्रदान गर्ने अध्यक्ष शाहीले बताए । बाँके जिल्ला फुटबल विकासमा प्रतियोगिता महत्वपुर्ण रहेको समेत शाहीले बताए ।

मेयर कप फुटबल प्रतियोगितामा उत्कृष्ट खेलाडी छनोट गरेर अन्य जिल्लासँग मैत्रीपुर्ण खेल खेल्ने संघको योजना रहेको छ । गत वर्ष बाँके जिल्लामा भएको मेयर कपको उत्कृष्ट खेलाडीहरुले कैलालीसँग मैत्रीपुर्ण खेल खेलेको थियो । मेयर कप फुटबल प्रतियोगितामा करिब ५० विद्यालयको सहभागिता रहने संघले अनुमान गरेको अध्यक्ष शाहीले बताए ।

 

Post Comments