
बिर्तामोड । फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा ११ एफसी झापाको बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ । झापा ११ पहिलापल्ट पहिलो चरणबाटै बाहिरिएको हो ।
स्टार खेलाडीले भरिएको झापा ११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो प्रिक्वाटर खेलमा आयोजक झापा ११ लाई २-० गोलअन्तरले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टरफाइनलमा प्रवेश गरेको छ । इटहरीले भारतको जिटिए दार्जिलिङसँगको भेट पक्का गरेको छ ।
राष्ट्रिय टिमका नियमित खेलाडी उत्सव राई, आयुष घलान, प्रशान्त लक्सम, डिफेन्डर देवेन्द्र तामाङसहित मैदानमा उत्रिएको झापाले खेलमा फितलो प्रदर्शन गरेको थियो । इटहरीको जितमा मिलन लाई नायक बने । उनले दोस्रो हाफको ५३ र ६२औँ मिनेटमा टिमको लागि गोल गर्न सफल भए ।
खेलको ५३औँ मिनेटमा गोलपोस्टको २० यार्डमा झापाका डिफेन्डर विशाल दर्जीले इटहरीका मिलन राईलाई फाउल गरेका थिए । त्यसपछि पाएको फ्रिकिकलाई राईले नै सुन्दर गोल गरे ।
खेलमा दोस्रो गोल राईले नै गर्न सफल भए । ६२औँ मिनेटमा झापाका दुईजना डिफेन्डरले क्लियर गर्न नसकेको बललाई राईले गोलमा परिणत गरे । गोलकिपर सन्दीप लिम्बूलाई बिट गर्दै गरेको प्रहारले इटहरीको अग्रता दोब्बर बनायो ।
खेलमा झापाको प्रदर्शन अपेक्षाकृत फितलो रह्यो । विपक्षी पोस्टमा झापाले आक्रामक प्रयास गर्न सकेन । खेलको ४४औँ मिनेटमा झापाका दयानन्द सिंहले डिबक्समा पाएको अवसर बाहिरियो । ५७औँ मिनेटमा सिंहको लामो प्रहार विपक्षी गोलकिपर निरज चौधरीलेले पञ्च गरेर बचाउ गरे ।
१८औँ मिनेटमा जागृतिका बिकु राईले पाएको बल गोल नहुँदा अग्रता लिने अवसरबाट बञ्चित भयो । ४१औँ मिनेटमा मिलन राईले डिबक्सबाट गरेको कडा प्रहार गोलकिपर सन्दीप लिम्बूले उत्कृष्ट बचाउ गरे ।
खेलको प्लेयर अफ द म्याच इटहरीका २ गोलकर्ता मिलन राई भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए । उनलाई झापा ११ का अध्यक्ष जलकुमार गुरुङ लगायतले ट्रफी प्रदान गरे ।
सोमबारको पहिलो क्वार्टरफाइनल खेल त्रिभुवन आर्मी फुबटल क्लब र सलहेस फुटबल क्लब सिराहाबीच हुने आयोजकले जनाएको छ । सलहेस बाइ पाएर प्रतियोगितामा सहभागी भएको हो ।
प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपजिेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका महासचिव गणेश पोखरेलले जानकारी दिए ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता एक जना तथा उत्कृष्ट गोलकिप्पर एक जनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ ।