News प्रथम झापा कप : त्रिभुवन आर्मी फुटबल क्लब क्वार्टरफाइनलमा
रमेश समदर्शी

झापाको बिर्तामोडमा सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।

आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई र निरज चौधरीले गोल गरे । खेलको २५औँ मिनेटमा आर्मीका स्ट्राइकर कार्कीले मोरङका डिफेन्डर अगाडि बढेको अवस्थामा गोल गरेका थिए । उनले मैदानको मध्यभागमा सिंगल खेल्दै बललाई पोस्टको दिशा दिए । आर्मीका लागि अर्को गोल खेलको ८२औँ मिनेटमा सम्भव भयो । वैकल्पिक खेलाडी दिशान्त राईले निरज घिसिङको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए ।

खेलको अन्तिम समयमा निरज चौधरीले गोल थप्दै आर्मीको जित सुनिश्चित गरेका हुन् । मोरङका डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै चोधरीले गरेको प्रहार गोलरक्षक अरुन ब्लोनले बचाउन सकेनन् । खेलमा मोरङले खासै मुभ बनाउन सकेन । खेलको ४७औँ मिनेटमा अनमार्क रहेका दिपेश आलेमगरले विपक्षी पोस्टमा पाएको बल सदुपयोग गर्न नसक्दा बराबरी गर्ने अवसर गुमेको थियो । खेलको प्लेयर अफ द म्याच आर्मीका दिशान्त राई घोषित भए । उनले नगद १० हजार पुरस्कार पाए ।

भोलि आइतबारको खेल आयोजक झापा ११ फुटबल क्लब र राष्ट्रिय जागृति क्लब इटहरीबीच हुने आयोजकले जनाएको छ । शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपजिेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका महासचिव गणेश पोखरेलले जानकारी दिए ।

प्रतियोगितामा नेपालका ९ र भारतको एउटा क्लबको सहभागिता रहेको छ ।

Post Comments