News इन्ट्रा पथरी–११ सेमिफाइनलमा
गोलनेपाल

सुन्दरहरैचा । इन्ट्रा पथरी–११ फुटबल क्लब यहाँ जारी स्व. दिपेश स्मृती चौथो सुकुना च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको क्वाटरफाइनलतर्फ इन्ट्रा पथरी–११ ले चुलाचुली स्र्पोटिङ क्लबलाई ३–२ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

सुन्दरहरैचा–१० स्थित सुकुना खेलमैदानमा भएको खेलमा सुरुवाती गोल भने चुलाचुलीले गरेको थियो । स्याम मुर्मुको गोलमार्फत अग्रता बनाएको चुलाचुलीले सौरब सुब्बाको गोलमार्फत २–० को अगता बनाएको थियो ।

त्यसपछि भने इन्ट्रा पथरिले खेलमा पूनःरागमन गर्यो । पथरीको लागि सनम धिमाल र मिक्सन दासले गोल गरेपछि पहिलो हाफमै पथरी खेलमा फर्किएको थियोे ।

पहिलो हाफमा २–२ को बराबरि भएको खेलमा दोस्रो हाफमा पथरी लागि सन्जय लिम्बुले तेस्रो तथा निर्णायक गोल गर्दै टोलीको जित पक्का गरेका थिए । खेलमा पथरीका कप्तान मिन धिमाल म्यान अफ दि म्याच घोषित भए ।

खोर्साने सामुदायिक विकास केन्द्र, सुन्दरहरैचा–१२, खोर्साने मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल मंसिर १५ गतेका दिन हुनेछ ।

Post Comments