काठमाडौं । करिब एक दशक बढी समयदेखि नेपालको सिनियर फुटबल टोलीमा निरन्तर स्थान बनाउँदै महत्वपूर्ण सदस्यका रुपमा रहँदै आएका अनुभवी खेलाडी रोहित चन्दले शनिबार अन्तर्राष्ट्रिय डेब्यु गोल गरेका छन् ।
फिफा विन्डोतर्फ दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचका लागि ताजिकिस्तान पुगेको नेपालले शनिबार आफ्नो दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई २–० ले हरायो ।
यो जितमा नेपालका लागि पहिलो गोल जिलेस्पी जंग कार्कीले गरेका थिए भने दोस्रो गोल रोहितले गरेका थिए । जुन गोल रोहितको अन्तर्राष्ट्रिय डेब्यु गोल पनि बन्यो ।
स्मरण रहोस, रोहितले सन् २००९ को मार्चमा प्यालेस्टाईन विरुद्ध खेल्दै नेपालका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । मध्यपंक्ति र रंक्षात्मक भूमिका दुवैमा खेल्न सक्ने क्षमता भएका रोहितले सिनियर टोलीका लागि डेब्यु गोल गर्न १५ बर्ष पर्खनुपर्यो ।