
कोल्हुवा । नमोबुद्ध फुटबल क्लब, सप्तरी यहाँ जारी सातौं राईनो गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।
सोमबार भएको दोस्रो सेमिफाइनलतर्फ नमोबुद्धले विभागीय टोली नेपाल पुलिस क्लबलाई टाईब्रेकरमा ४-२ ले हराउँदै फाइनल प्रवेश गरेको हो ।
त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १-१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । निर्धारित समयतर्फ ६०औं मिनेटमा आदित्य शाक्यले नमोबुद्धका लागि शुरुवाती गोल गरेका थिए भने अन्तिमतिर प्रबिन थापाले पुलिसका लागि बराबरी गोल फर्काएका थिए ।
त्यस्तै खेलको अन्तिमतिर दुवै टोली १०/१० खेलाडीमा समेत सिमित भएका थिए । नमोबुद्धका लक्षु थापा र पुलिसका पावेल कटवालले सोझै रातो कार्ड खाँदा दुवै टोली १० खुम्चिएका थिए । यद्यपि नतिजा नमोबुद्धले आफ्नो पक्षमा पार्न सफल भयो ।
खेलमा नमोबुद्धका आदित्य शाक्य म्यान अफ दि म्याच चुनिए । नमोबुद्धले अब कार्तिक १४ गते हुन्र फाइनलमा अर्को विभागीय टोली एपिएफ फुटबल क्लबं काठमाडौसँग उपाधिका लागि भिड्नेछ ।
राईनो क्लब, मध्यविन्दु-४, नवलपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।