
रामपुर । गन्नी फुटबल क्लब, पोखरा यहाँ जारी दोस्रो ज्योतिपुञ्ज कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा गन्नीले २८ बिगाहा युवा क्लब, नवलपुरलाई २–१ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।
रामपुर–७, किसानबारी स्थित ज्योतिपुञ्ज खेलमैदानमा भएको खेलमा गन्नीका लागि सन्दिप राना र सुमित श्रेष्ठले गोल गरे । उता २८ बिगाहाका लागि भने सिर्जन क्षेत्रीले एक मात्र गोल फर्काएका थिए ।
खेलमा गन्नीका लागि निर्णायक गोल गरेका सुमित श्रेष्ठ प्लेयर अफ दि म्याच चुनिए । गन्नीले अब कार्तिक १० गते शनिबार हुने फाइनलमा युनाइटेड युथ क्लब, नवलपरासीसँग उपाधिका लागि भिड्नेछ ।
ज्योतिपुञ्ज युथ क्लब, रामपुर–७, किसानबारी, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ३ हजार ३३३ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख ७७ हजार ७७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुदिप गौतमले जानकारी दिए ।