News दोस्रो ज्योतिपुञ्ज कपः एकतर्फी जितका साथ युनाइटेड युथ फाइनलमा
सुरज राना मगर

रामपुर । एकतर्फी जित निकाल्दै युनाइटेड युथ क्लब, गिरुबारी, नवलपरासी यहाँ जारी दोस्रो ज्योतिपुञ्ज कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलतर्फ युनाइटेडले फर्साटिकर युवा क्लब, रुपन्देहीमाथि ५–० को फराकिलो जित निकाल्दै उपाधि नजिक पुग्न सफल भएको हो । युनाइटेड युथका लागि अनिल राना मगर र समिप ढकालले समान २–२ गोल गर्दा सलिल ढकालले थप एक गोल गरेका थिए ।

खेलमा युनाइटेड युथका अनिल राना मगर प्लेयर अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत कार्तिक ८ गते थप एक क्वाटरफाइनल खेल बाँकी रहेको खेल संयोजक अनिल शाही ठकुरीले बताए । जसअन्तर्गत बिहीबार देवदह ब्वाईज, रुपन्देही र गन्नी फुटबल क्लब, पोखरा भिड्ने संयोजक ठकुरीले जानकारी दिए ।

ज्योतिपुञ्ज युथ क्लब, रामपुर–७, किसानबारी, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ३ हजार ३३३ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख ७७ हजार ७७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुदिप गौतमले जानकारी दिए । कुल १० टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल भने कार्तिक १० गतेका दिन हुने समेत अध्यक्ष गौतमले बताए ।

Post Comments