
बेलबारी । रोमाञ्चक जित हात पार्दै चितलाङ फुटबल क्लब, काठमाडौ यहाँ जारी सातौं बेलबारी आरजु राईस गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको प्रीक्वाटरफाइनलमा चितलाङले आयोजक एल.एक्स. सिटी फुटबल क्लब, लक्ष्मीमार्ग, मोरङलाई ३-२ ले हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।
खेलमा चित्लाङका लागि सनम धिमाल, कार्लोस र हेन्ड्रीले एक-एक गोल गरे । पराजित एल.एक्स. सीटीका लागि भने सुशील राई र प्रदिप लामाले गोल गरेका थिए ।
खेलमा चितलाङका कार्लोस म्यान अफ दि म्याच घोषित भए । उनले पुरस्कारवापत नगद ५ हजार र ट्रफी प्राप्त गरे । प्रतियोगिता अन्तर्गत कार्तिक ४ गते आइतबारको पहिलो क्वाटरफाइनल खेल भोजपुर जिल्ला फुटबल संघ, भोजपुर र झापा-११ फुटबल क्लब, झापाबीच हुने आयोजकले जानकारी दियो ।
एलएक्स सिटी फुटबल क्लब, बेलबारी, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।