News दोस्रो ज्योतिपुञ्ज कप भव्यताका साथ शुरु
सुरज राना मगर

रामपुर । छोटो समय मै पूर्वी पाल्पाको रामपुर नगर कै प्रतिष्ठा बनेको ज्योतिपुञ्ज कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता शनिबारदेखि भव्यताका साथ शुरु भएको छ ।

रामपुर–७, किसानबारी स्थित आयोजक क्लब कै ज्योतिपुञ्ज खेलमैदानमा भएको उद्घाटन खेलमा रुपन्देहीको लिग च्याम्पियन फर्साटिकर युवा क्लबले विजयी शुरुवात गर्यो । विजयी शुरुवात गर्ने क्रममा फर्साटिकरले भैरव स्पोर्टस क्लब, नवलपरासीलाई पेनाल्टी शुटआउटमा हरायो ।

निर्धारित समयको प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी शुटआउटबाट लिइएको थियो । पेनाल्टीमा फर्साटिकरले ५–४ को जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाउन पनि सफल भयो ।

खेलमा फर्साटिकरका कप्तान तथा गोलरक्षक शुभांकर जिसी प्लेयर अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत कार्तिक ४ गते दुई खेलहरु हुने खेल संयोजक अनिल शाही ठकुरीले बताए । पहिलो खेलतर्फ ११ः३० बजे २८ बिगाहा युवा क्लब, नवलपुर र होराईजन क्लब, वालिङ, स्याङ्जा भिड्ने छन् भने ३ः३० बजे हुने दोस्रो खेलमा आयोजक ज्योतिपुञ्ज युवा क्लब, रामपुर र युनाइटेड युथ क्लब, गिरुबारी भिड्ने छन् ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारु, लुम्बिनी प्रदेशका माननीय सांसद राजु प्रसाद, रामपुर नगरपालिकाका नगर प्रमुख रमन बहादुर थापा, आयोजक क्लबका अध्यक्ष सुदिप गौतम लगायतले संयुक्त रुपमा गरेका थिए ।

ओके बाजेको भव्य अभिनन्दन

त्यस्तै सोही अवसरमा ओक बाजेका नामले प्रख्यात वरिष्ठ समाजसेवी जापानी नागरिक काजुमासा काकिमीको नागरिक अभिनन्दन कार्यक्रम र सम्मान कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

लुम्बिनी प्रदेशका अधिकांश जसो विकट गाउँहरु खासगरी पाल्पा जिल्लालाई कर्मभूमि बनाई नेपाली समाजका लागि सबथोक सुम्पिएका ओके बाजेले ज्योतिपुञ्ज कपको पहिलो संस्करण र दोस्रो संस्करणलाई भव्यताका साथ आयोजना गर्न पनि महत्वपूर्ण भूमिका खेलेका थिए ।

ज्योतिपुञ्ज युवा क्लब, रामपुर–७, किसानबारी, पाल्पाको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ३ हजार ३३३ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख ७७ हजार ७७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल कार्तिक १० गतेका दिन हुनेछ ।

Post Comments