News झापामा दिवंगत खेलाडीको स्मृतिमा श्रद्धाञ्जलि सभा
रमेश समदर्शी

बिर्तामोड । मकवानपुरको सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका एन्फा एकाडेमीका छ जना फुटबल प्रशिक्षार्थी खेलाडीप्रति बिर्तामोडमा दीप प्रज्वलन गरी श्रद्धाञ्जलि व्यक्त गरिएको छ ।

बिर्तामोड युनाइटेड एफसी र पूर्वेली युवा क्लबको अग्रसरतामा प्राकृतिक विपदमा परी ज्यान गुमाएका ६ जना खेलाडी भाइहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै बिर्तामोडको मुक्तिचोकमा दीप प्रज्वलन गरिएको बिर्तामोड युनाइटेड एफसीका अध्यक्ष भुपेन लिम्बूले जानकारी दिए ।

उनका अनुसार श्रद्धाञ्जलि सभामा पूर्वेली युवा क्लबका अध्यक्ष दिपेन चौधरी, बिर्तामोड युनाइटेडका सदस्यहरु, झापाबाट राष्ट्रिय टोलीमा सहभागी भएका सदस्यहरु र महिला फुटबलरहरु सहभागी थिए ।

सिस्नेरीमा आएको पहिरोमा परी एन्फाद्वारा मकवानपुरमा सञ्चालित एकाडेमीमा प्रशिक्षणरत ६ बाल खेलाडीहरु आदित्य बलम्पाखी, बिकल रेग्मी, प्रियान्स आचार्य, दिवस बानियाँ, अनुपम घलान र साइमन योञ्जनले ज्यान गुमाएका थिए ।

Post Comments