
चपरहट्टी । एकतर्फी जित निकाल्दै यहाँ सम्पन्न तेस्रो चपरहट्टी कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको उपाधि तिलोत्तमा–८ फुटबल क्लबले जितेको छ । फाइनलमा आयोजक चपरहट्टी फुटबल क्लबलाई ४–१ ले हराउँदै तिलोत्तमा विजेता बनेको हो ।
तिलोत्तमा–१, स्थित सिद्धार्थ खेलमैदानमा भएको उपाधि भिडन्तमा तिलोत्तमा–८ का लागि कप्तान सबि गुरुङले दुई गोल गरे भने राज लामाले एक गोल गरे । थप एक गोल भने आयोजक चपरहट्टीका अशोक थापाले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए । त्यस्तै चपरहट्टीका लागि सोसन थापाले एक मात्र सान्त्वना गोल फर्काए ।
विजेता बनेको तिलोत्तमा–८ ले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता चपरहट्टीले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।
विधागततर्फ उत्कृष्ट गोलरक्षक तिलोत्तमा–८ का प्रकाश चौधरी बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार जन शान्ति क्लबका मनिष तामाङले हात पारे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने आयोजक चपरहट्टीका अशोक थापा चुनिए ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँड, तिलोत्तमा नगरपालिका वार्ड नम्बर १ का वार्ड अध्यक्ष फर्सुराम गिरी, आयोजक चपरहट्टी फुटबल क्लब, तिलोत्तमा–१ का अध्यक्ष राजकुमार रासकोटीले पुरस्कृत गरेका थिए ।