
सुकचर । झिनो अन्तरको जित निकाल्दै एपिएफ पकली यहाँ जारी चौथो बुढिगंगा सुकचर च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
चौथो क्वाटरफाइनलतर्फ एपिएफले आयोजक नव युवा क्लब, बुढिगंगालाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने तेस्रो टोली बनेको हो ।
एपिएफका लागि समिर दर्जी कार्कीले २४औं मिनटमा गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । निर्णायक गोलकर्ता समिर नै खेलको म्यान अफ द म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत असोज २ गते बुधबारकोपहिलो सेमिफाइनल खेल पूर्वाञ्चल युनाइटेड क्लब, सुन्दरहरैचा र कुसुमे साइनिङ फुटबल क्लब, केराबारी बीच हुने आयोजकले जानकारी दियो ।
नव युवा क्लब, बुढिगंगा–६, सुकचरको आयोजना तथा बुढिगंगा गाउँपालिका, मोरङ र बुढिगंगा गाउँपालिका वार्ड नम्बर ६ को कार्यालयको संयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल असोज ५ गतेका दिन हुनेछ ।