
कोटिहवा । साविक विजेता फर्साटिकर युवा क्लब, फर्साटिकर यहाँ जारी स्व. कमलराज पाठक स्मृति २२औं लिस्नु कप खुला नकआउट फुटबल प्रतियोगितामा लगातार चौथोपटक फाइनल प्रवेश गरेको छ ।
मंगलबार भएको दोस्रो सेमिफाइनलमा फर्साटिकरले बलियो प्रतिद्वन्द्वी झरना स्पोर्टस क्लब, कुञ्जलापुरलाई २–१ले हराउँदै फाइनल स्थान पक्का गरेको हो ।
पशुपति माविको खेलमैदानमा भएको खेलमा फर्साटिकरका लागि निरज चौधरी र टिकाराज गुरुङले गोल गरे । पराजित झरनाका लागि भने दिपेश आले मगरले गोल गरेका थिए ।
खेलमा फर्साटिकरका मिलन राई म्यान अफ द म्याच चुनिए । फर्साटिकरले अब असोज ३ गते हुने फाइनलमा समपुर्ण युवा क्लब, सुपौलीको सामना गर्ने खेल संयोजक कृष्ण गुरुङले जानकारी दिए ।
लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ६५ हजार प्राप्त गर्नेछ ।