कोटिहवा । रोमाञ्चक जित हात पार्दै सञ्जिवनी युवा क्लब, देवीनगर यहाँ जारी कमलराज पाठक स्मृति २२औं लिस्नु कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको तेस्रो प्रिक्वाटरफाइनलतर्फ सञ्जिवनीले नवलपरासी–११ माथि ३–२ को जित निकाल्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।
पशुपति माविको खेलमैदानमा भएको खेलमा सञ्जिवनीका लागि फागुराम थारुले दुई गोल गरे भने थप एक गोल अजित लामाले गरे । उता नवलपरासीका लागि दुवै गोल कप्तान बिनोद साहनीले गरेका थिए ।
खेलमा सञ्जिवनी कै अजित लामा म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत भदौ २४ गते सोमबारको तेस्रो प्रिक्वाटरफाइनल खेल नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपल र गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवल बीच हुने खेल संयोजक कृष्ण गुरुङले जानकारी दिए ।
लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ६५ हजार प्राप्त गर्नेछ । कुल १२ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल असोज ३ गतेका दिन हुनेछ ।