News स्व. कमलराज पाठक स्मृति २२औं लिस्नु कप शुरु, सिर्जनराजको हयाट्रिकसँगै समपुर्णको उत्कृष्ट शुरुवात
सुरज राना मगर

कोटिहवा । शनिबारदेखि शुरु रुपन्देही कै प्रतिष्ठित र पुरानो मध्ये एक स्व. कमलराज पाठक स्मृति २२औं लिस्नु कप राष्ट्रिय फुटबल प्रतियोगिताको दावेदारका रुपमा देखिएको समपुर्ण युवा क्लब, सुपौलीले उत्कृष्ट शुरुवात गरेको छ ।

तिलोत्तमा–१५, कोटिहवा स्थित पशुपति माविको खेलमैदानमा भएको उद्घाटन खेलमा समपुर्णले देवदह ब्वाईज, देवदहलाई शून्यका विरुद्ध ५ गोलले हराउँदै उत्कृष्ट विजयी शुरुवात गरेको हो ।

समपुर्णको जितमा सिर्जनराज गौतमले प्रतियोगिता कै पहिलो हयाट्रिक गरे । त्यस्तै थप दुई गोल गरे भने पुर्ण बहादुर गुरुङले गरे । खेलमा ह्याट्रिक गरेका समपुर्णका सिर्जनराज गौतम नै म्यान अफ द म्याच चुनिए ।

यो जितसँगै समपुर्ण प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत भदौ २३ गते आइतबारको प्रिक्वाटरफाइनल खेल सञ्जिवनी युवा क्लब, देवीनगर र नवलपरासी–११ बीच हुने खेल संयोजक कृष्ण गुरुङले जानकारी दिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सांसद छविलाल विश्वकर्माले गरेका थिए । सो अवसरमा आयोजक लिस्नु युवा क्लब, कोटिहवाका संरक्षक तथातिलोत्तमा–१५ का वार्ड अध्यक्ष खेमराज गुरुङ, आयोजक क्लबका अध्यक्ष तिर्थराज मल्ल, मुख्य प्रायोजक स्व. कमलराज पाठकको श्रीमती तथा सिद्धार्थ ईट्टा उद्योगकी प्रोप्राइटर लक्ष्मी पाठक, छोरा अभिषेक पाठक र छोरीहरु दिपा पाठक, कृति पाठक र आकृति पाठकका साथै रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन लगायतको उपस्थिति रहेको थियो ।

लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवाको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ६५ हजार प्राप्त गर्नेछ । कुल १२ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल असोज ३ गतेका दिन हुनेछ ।

 

Post Comments