News दोस्रो चितवन गोल्डकपको मुख्य प्रायोजक गोल्डेन ईमिनेन्ट
गोलनेपाल

चितवन गोल्डकपको दोस्रो संस्करण असोज ३ गतेदेखि सुरु हुने भएको छ । भरतपुर फुटबल क्लब (बिएफसी) को आयोजनामा हुने गोल्डकप असोज १२ गतेसम्म चल्नेछ । प्रतियोगितामा १० टिम सहभागी हुनेछन् ।

प्रतियोगिता संयोजक धुर्व भुसालका अनुसार ए डिभिजन लिग र नेपाल सुपर लिग एनएसएल खेल्ने टोलीहरु सहित मफोसलका चर्चित क्लबहरु सहभागी हुनेछन् । प्रतियोगितामा सहभागी टिमको नाम केही दिनमा सार्वजनिक गरिने भुसालले बताए । प्रतियोगिताका खेलहरु नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिमकेन्द्र) को मैदानमा हुनेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

पहिलो चरणमा दर्शकका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिने भुसालले जानकारी दिए । क्लबका अध्यक्ष लाल सिंह गुरुङले तयारी थालिएको बताए । पहिलो संस्करणको तुलनामा दोस्रो संस्करणलाई थप व्यवस्थित र भव्य बनाउने गरी तयारी थालिएको उनले बताए ।

पहिलो संस्करण २०७९ भाद्र २५ देखि असोज ३ गतेसम्म क्याम्पाचौर नारायणगढमा भएको थियो । पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको थियो । यसैबीच प्रतियोगिताको मुख्य प्रायोजकमा गोल्डेन ईमिनेन्ट इन्टरनेशनल रहने भएको छ । आज (बिहीबार) आयोजक बिएफसी र गोल्डेन ईमिनेन्टबीच मुख्य प्रायोजनको सम्झौता भएको हो ।

सम्झौता पत्रमा क्लबका तर्फबाट संयोजक धुर्व भुसाल र गोल्डेन ईमिनेन्टका तर्फबाट प्रवन्ध निर्देशक प्रकाश रिजालले हस्ताक्षर गरे । सो क्रममा रिजालले प्रतियोगिताको सफलताको कामना गरे । गोल्डकपलाई मोसफलकै प्रतिष्ठित प्रतियोगिता बनाउन गोल्डेन ईमिनेन्ट जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए । गोल्डेन ईमिनेन्टले दक्षिण कोरिया अध्ययनका लागि जाने विद्यार्थीहरुलाई परामर्श दिदै आएको छ ।

Post Comments