
लेटाङ । राष्ट्रिय फुटबल टोलीका युवा डिफेन्डर अभिषेक लिम्बु गृहनगर लेटाङ, मोरङमा सम्मानित भएका छन् । अभिषेकलाई लेटाङ नगरपालिकाले आफ्नो पन्ध्रौं नगरसभाको अवसरमा नगदसहित सम्मान गरेको हो ।
फुटबलको माध्यमबाट लेटाङ नगर र समग्र मोरङ जिल्ला कै नाम अन्तर्राष्ट्रियस्तरमा चिनाएको भन्दै अभिषेकलाई कदरपत्र र नगदसहित सम्मान गरिएको हो ।
सम्मान प्राप्त गरेपछि अभिषेकले पनि खुशी व्यक्त गरे । गृहनगरमा यसरी सम्मानित हुन पाउँदा आफूलाई निकै खुशी लागेको बताउँदै अभिषेकलले देशका लागि खेल्दा अझै मेहनत गरेर राम्रो खेल्ने प्रतिवबद्धता जनाए ।
स्मरण रहोस, अभिषेकले फिफा विश्वकप र एएफसी एसियन कप छनौटतर्फ गत मार्चमा बहराईन विरुद्ध खेल्दै नेपालका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । रक्षापंक्तिमा खेल्ने अभिषेकले त्यसयता नियमित जसो राष्ट्रिय टोलीमा स्थान बनाउँदै आइरहेका छन् ।