
काठमाडौं (एजेन्स) । प्रतियोगितामा मध्यम शुरुवात गरेको इङल्याण्ड जारी युइएफए युरोको लगातार दोस्रोपटक फाइनलमा प्रवेश गरेको छ । गत संस्करणको उपविजेता समेत रहेको इङल्याण्डले बुधबार अबेर राती नेदरल्याण्डसलाई हराउँदै घरेलु मैदान बाहिर पहिलोपटक फाइनल यात्रा पक्का गरेको हो ।
डर्टमुण्डमा भएको दोस्रो सेमिफाइनलतर्फ इङल्याण्डले नेदरल्याण्डसमाथि २–१ को सनसनीपूर्ण जित निकाल्यो । यद्यपि खेलमा शुरुवाती अग्रता भने नेदरल्याण्डसले लिएको थियो । खेलको सातौं मिनट मै जावी सिमोन्सको गोलबाट डच टोलीले खेलमा अग्रता बनायो ।
तर लगतै पेनाल्टीको अवसर पाएको इङल्याण्डका लागि १८औं मिनटमा हेरी केनले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । निर्धारित समयको खेल बराबरीतर्फ लम्किरहेको बेला वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका ओली वाट्किन्सले ९०औं मिनटमा इङल्याण्डका लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीलाई लगातार दोस्रोपटक फाइनलमा पुर्याए ।
इङल्याण्डले अब १४ जुलाईका दिन बर्लिनमा हुने फाइनलमा स्पेनको सामना गर्नेछ । स्मरण रहोस, स्पेनले मंगलबार राती मात्रै फ्रान्सलाई समान २–१ को अन्तरले हराउँदै फाइनल स्थान सुरक्षित गरिसकेको छ ।