News हिमालय युनाइटेड सेमिफाइनलमा
गोलनेपाल

इटहरी । कठिन जितका साथ हिमालय युनाइटेड फुटबल क्लब, मोरङ यहाँ जारी तेस्रो अजय बिजय स्मृति कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

चौथो क्वाटरफाइनलतर्फ हिमालयले आयोजक संकल्प युवा क्लब, इटहरीलाई सडन डेथमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको छिनोफानो टाईब्रेकरबाट लिइएको थियो ।

टाईब्रेकरमा पनि नतिजा निस्किन नसक्दा सडन डेथमा हिमालयले संकल्पमाथि ९–८ को जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्यो । खेलमा हिमालयका गोलरक्षक सुजन बिक म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत जेठ १६ गते बुधबारको पहिलो सेमिफाइनल खेल पुर्वाञ्चल युनाइटेड, मोरङ र जलपा युथ क्लब, तेह्रथुम बीच हुने आयोजकले जानकारी दियो ।

संकल्प युवा क्लब, इटहरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३३,३३३ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ १९ गतेका दिन हुनेछ ।

Post Comments