
बुटवल । इभोलुशन क्लब अफ बुटवलको आयोजनामा शनिबारदेखि शुरु भएको दोस्रो इभोलुशन कप खुला नकआउट फुटबल प्रतियोगितामा फर्साटिकर युवा क्लब, फर्साटिकरले विजयी शुरुवात गरेको छ ।
बुटवल–१२, तामनगर स्थित चारपाला रंगशालामा भएको निर्धारित समयको गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरमा फर्साटिकरले देवीनगर युवा क्लब, देवीनगरमाथि ५–४ को जित निकाल्दै विजयी शुरुवात गरेको हो । खेलमा पराजित देवीनगरका अभिषेक धिमाल म्यान अफ द म्याच घोषित भए ।
यो जितसँगै फर्साटिकर क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बैशाख ३० गते आइतबारको प्रिक्वाटरफाइनल खेल आयोजक इभोलुशन क्लब अफ बुटवल र चाँदनी फुटबल क्लब बीच हुने खेल संयोजक अमर थापा मगरले जानकारी दिए ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे, आयोजक इभोलुशन क्लब अफ बुटवलका अध्यक्ष राम बहादुर पुन लगायतले संयुक्त रुपमा गरेका थिए ।
आउँदो जेठ १० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५२,२५० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष राम बहादुर पुनले बताए ।