News भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिग सुरु
गोलनेपाल

भरतपुर । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिग सुरु भएको छ ।

शुक्रबारबाट सुरु भएको लिगको उद्घाटन खेलमा स्टेप बाई स्टेप र ओम शान्ति एकेडेमीले गोलरहित बराबरी गर्दै अंक बाँडेका छन् । दुबै टिमले पाएका केही अवसर खेर फाल्दा अंक बाँड्न वाध्य भएका हुन् ।

लिगमा शनिबार कुनै खेल हुनेछैन । आइतबार भने दुई खेल हुनेछ । आइतबार समूह ए का ढड्डाघारी मावि र गौरीगन्ज मावि भिड्नेछन् । खेल दिउँसो ४:३० बजे कृष्णपुरको मैदानमा हुनेछ ।

सोही समयमा समूह बी का ग्रीनल्याण्ड पब्लिक स्कुल र सिदार्थ मावि भिड्नेछन् । खेल अमर मावि पाटिहानीमा हुनेछ । चितवन जिल्ला फुटबल संघ सह आयोजक रहेको लिग जेष्ठ १९ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा भरतपुर महानगरपालिका भित्र १२ सामुदायिक तथा १२ संस्थागत गरी २४ विद्यालय सहभागी छन् । सहभागी २४ विद्यालयलाई छ समूहमा विभाजन गरिएको छ ।

सबै समूहका टिमले होम एण्ड अवेका आधारमा एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । छ समूहबाट समूह विजेतामध्ये उत्कृष्ट चार विद्यालय सिधै क्वाटरफाइनल प्रवेश गर्नेछन् । बाँकी दुई समूह विजेता र छ समूह उपविजेता गरी आठ टोली प्रिक्वाटरफाइनल प्रवेश गर्नेछ ।

Post Comments