
काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को छनौट खेल खेल्न बहराइन पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले घरेलु टोली बहराईनसँग पहिलो खेलमा निराशाजनक हार बेहोरेको छ ।
आफ्नो घरेलु म्याचका रुपमा खेलेको नेपालले रिफा शहर स्थित बहराइन नेशनल स्टेडियममा भएको खेलमा घरेलु टोलीसँग शून्यका विरुद्ध ५ गोलको अन्तरले पराजित हुन पुगेको हो ।
खेलको शुरुवाती समय दुई गोल खाएको नेपालले पहिलो हाफमा कुल तीन र दोस्रो हाफमा थप दुई गोल खान पुगेको थियो । खेल शुरु भएको दोस्रो मिनटमै मेहदी अल–हुमैदनले बहराईनका लागि पहिलो गोल गरेका थिए ।
त्यसको दुई मिनट लगतै सयद नासेरले त्यो अग्रता दोब्बर पारे । त्यस्तै पहिलो हाफ कै अतिरिक्त समयमा अली मदनले बहराईनका लागि तेस्रो गोल थपे । खेलको अन्तिमतिर नेपालले थप दुई गोल खान पुग्यो ।
८७औं मिनटमा इब्राहिम अल–खटाईले बहराइनका लागि चौथो गोल गरे भने इन्जुरी समयमा इस्माइल अब्दुलातिफले पेनाल्टीबाट पाँचौं गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरेका थिए ।
नेपाल र बहराइन बीच आगामी खेल अवे म्याचका रुपमा २६ मार्चका दिन बहराइन नेशनल स्टेडियम मै हुनेछ । उता नेपाल र बहराइन कै समूह एचमा रहेको युएईले यमनमाथि २–१ को जित निकालेको छ ।
समूह एचमा तीन खेलबाट ९ अंक जोडेको युएई शिर्ष स्थानमा छ । ६ अंक जोडेको बहराइन दोस्रो स्थानमा रहँदा ३ अंकका साथ यमन तेस्रो स्थानमा छ । अंकविहीन नेपाल भने पुछारमा छ ।
- जोर्डन पहिलोपटक फिफा विश्वकपका लागि छनौट, दक्षिण कोरिया पनि छनौट
- उज्वेकिस्तान पहिलोपटक फिफा विश्वकपका लागि छ्नौट
- एएफसी यु-२३ एसियन कप छनौटको समूह के मा नेपाल
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने