
बागमती । छैठौं बागमती गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लब, काठमाडौंले जितेको छ । बिहीबार सम्पन्न फाइनल भिडन्तमा मच्छिन्द्रले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब, काठमाडौंलाई शून्यका विरुद्ध ४ गोलले हराउँदै उपाधि चुम्न सफल भएको हो ।
जनता माविको खेलमैदानमा भएको खेलमा मच्छिन्द्रका लागि चिजोबाले दुई गोल गरे भने एक गोल करिमले गरे । त्यस्तै अर्को एक गोल भने एपिएफका कुलदिप कार्कीले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए ।
विजेता बनेको मच्छिन्द्रले उपाधिसहित नगद १० लाख हात पार्यो भने उपविजेता एपिएफले ५ लाखमा चित्त बुझायो । मच्छिन्द्रका करिम फाइनल खेलको म्यान अफ द म्याच चुनिए ।
अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक मच्छिन्द्रका प्रदिप भण्डारी घोषित भए । उत्कृष्ट डिफेन्डर एपिएफका कुलदिप कार्की बन्दा उत्कृष्ट मिडफिल्डर मच्छिन्द्रका बिशाल तामाङ चुनिए । उत्कृष्ट फरवार्ड मच्छिन्द्र कै हिसुब थपलिया बन्दा उत्कृष्ट प्रशिक्षक पनि मच्छिन्द्रका सन्तोष न्यौपाने चुनिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि मच्छिन्द्रका उत्सव राई घोषित भए । त्यसवापत उनले नगद १ लाख १ हजारसहित ट्रफी हात पारे ।
बागमती गाउँपालिका खेलकुद विकास समिति, मकवानपुरको आयोजनामा फागुन १ गतेदेखि शुरु प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा