News आयोजक ज्योतिपुञ्ज फाइनलमा
सुरज राना मगर

रामपुर । आयोजक ज्योतिपुञ्ज युवा क्लब यहाँ जारी ज्योतिपुञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा ज्योतिपुञ्जले भैरव स्पोर्टस क्लब, नवलपरासीलाई २–० ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।

रामपुर–७, किसानबारी स्थित ज्योतिपुञ्ज खेलमैदानमा भएको खेलमा ज्योतिपुञ्जका लागि दुवै गोल मोहित गुरुङले गरे । आयोजक टोलीलाई फाइनल पुर्याउन निर्णायक र नायक बनेका मोहित गुरुङ नै खेलको म्यान अफ द म्याच चुनिए ।

प्रतियोगिता अन्तरगत असोज २७ गते शनिबारको दोस्रो सेमिफाइनल न्यु युथ युनियन क्लब, पाल्पा र फर्साटिकर युवा क्लब, रुपन्देहीबीच हुने खेल संयोजक अनिल शाही ठकुरीले जानकारी दिए ।

ज्योतिपुञ्ज युवा क्लब, रामपुर–७, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुदिप गौतमले जानकारी दिए । कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने असोज २८ गतेका दिन हुनेछ ।

Post Comments