
बराहक्षेत्र । प्रकाशपुर फुटबल क्लब, बराहक्षेत्र–१०, प्रकाशपुर, सुनसरीको आयोजनामा शुरु छैठौं प्रकाशपुर च्यालेञ्ज कपमा पञ्चकन्या फुटबल क्लब, उदयपुरले विजयी शुरुवात गरेको छ ।
बराहक्षेत्र–१०, प्रकाशपुर स्थित प्रकाश माविको खेलमैदानमा भएको उद्घाटन खेलमा पञ्चकन्याले इन्द्रेणी क्लब, बराहक्षेत्र, सुनसरीलाई टाईब्रेकरमा ५–३ ले हराउँदै विजयी शुरुवात गरेको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
खेलमा पञ्चकन्याका अनिष राई म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १५०० र ट्रफी हात पारे । यो जितसँगै पञ्चकन्या सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तरगत असोज २१ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल आयोजक प्रकाशपुर फुटबल क्लब र रामधुनी युवा क्लबबीच हुने आयोजकले जानकारी दियो ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी बराहक्षेत्र नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष तेज बहादुर गुरुङ लगायतका अतिथीहरुले संयुक्त रुपमा गरेका थिए ।
वराहक्षेत्र नगर खेलकुद विकास समिति, सुनसरीको प्रायोजन तथा वराहक्षेत्र नगरपालिका वडा नम्बर १० को कार्यालयको सह–प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ ।
कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल असोज २७ गतेका दिन हुनेछ ।