
काठमाडौं (एजेन्सी) । चीनमा जारी १९औं एसियन गेम्सको पुरुष फुटबलतर्फ समूह चरण पार गर्दै प्रिक्वाटरफाइनलमा पुगेको एक मात्र दक्षिण एसियाली राष्ट्र भारतको चुनौति प्रिक्वाटरफाइनलबाटै समाप्त भएको छ ।
बिहीबार भएको प्रिक्वाटरफाइनलतर्फ भारतले स्वर्णको दावेदार मानिएको साउदी अरेबियासँग ०–२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । साउदीका लागि दोस्रो हाफको ५४ र ५८औं मिनटमा अल नासरका युवा फरवार्ड मोहम्मद मरनले गरेको दुई गोल नै भारतलाई निराश बनाउन पर्याप्त बन्यो ।
बिहीबार नै भएका अन्य प्रिक्वाटरफाइनलतर्फ इरानले थाइल्याण्डलाई २–० ले हरायो । उत्तर कोरियाले पनि बहराईनमाथि समान २–० को जित निकाल्यो । आयोजक चीनले कतारलाई १–० ले हराउँदा हङकङले प्यालेस्टाईनमाथि समान १–० को जितसहित क्वाटरफाइनल स्थान पक्का गर्यो ।
त्यस्तै दावेदार दक्षिण कोरियाले किर्गिस्तानलाई ५–१ ले हराउँदा उज्वेकिस्तानले इण्डोनेसियालाई २–० ले पराजित गर्यो । त्यसैगरी स्वर्णको अर्को दावेदार टोली जापानले म्यानमारमाथि ७–० को एकतर्फी जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गर्यो ।
क्वाटरफाइनल समिकरण पूरा
बिहीबार प्रिक्वाटरफाइनलका सबै खेलहरु सम्पन्न भएसँगै प्रतियोगिताको क्वाटरफाइनल समिकरण पनि पूरा भएको छ । क्वाटरफाइनलतर्फ उज्वेकिस्तानले साउदी अरेबियासँग खेल्नेछ भने इरानले हङकङको सामना गर्नेछ ।
जापानले उत्तर कोरियासँग खेल्दा आयोजक चीनले बलियो दक्षिण कोरियाको सामना गर्नेछ । क्वाटरफाइनल खेलहरु भने अक्टुबर १ तारीख आइतबारका दिन हुनेछ ।