
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरस्वती युथ क्लबका कप्तान दिपेश श्रेष्ठलाई निलम्बन र जरिवाना गरेको छ ।
एन्फाले श्रेष्ठको नाममा जारी गरेको पत्रमा उनले कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा प्रतियोगिताको नियमावली विपरित कार्य गरेको भन्दै कारवाही गरिएको एन्फाले जनाएको छ ।
एन्फाका महासचिव इन्द्रमान तुलाधरद्वारा हस्ताक्षरित उक्त पत्रमा उल्लेख गरिएअनुसार सरस्वतीका कप्तान श्रेष्ठलाई ५० हजार जरिवाना गरिनुका साथै एन्फा मातहतको कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाउन नपाउने गरि २ बर्षका लागि निलम्बित गरिएको छ ।
स्मरण रहोस, लिगमा यस सिजन १३ खेलबाट केवल ४ अंक जोडेको सरस्वती रेलिगेशनमा परेको थियो । त्यतिबेला लिगको ५९औं नम्बरको खेलतर्फ सरस्वतीले हिमालयन शेर्पा क्लबलाई ४–३ ले हराएको थियो । लिगमा सरस्वतीको त्यो पहिलो र एक मात्र जित थियो ।
यद्यपि त्यो खेललाई प्रत्यक्ष हेर्नेहरुले मिलेमतो गरेको भन्दै चर्को आलोचना गरेका थिए । साथै विभिन्न सञ्चारमाध्यमहरुले समाचार समेत प्रकाशित गरेका थिए ।
त्यसपछि एन्फाले त्यसलाई गम्भिरताका साथ लिएर यहि फागुन २ गते आवश्यक छानबिनका लागि बसेको अनुशासन कमिटीको बैठकले सरस्वतीका कप्तान श्रेष्ठ माथि जरिवाना र निलम्बनको कारवाही गर्ने निर्णय गरेको हो ।