
काठमाडौं । क्यानडामा रहेका आप्रवासी नेपालीहरुबीच भएको राजधानी कप फुटबल प्रतियोगिताको उपाधि स्ट्रोङ एफसी, लण्डनले जितेको छ । फाइनलमा स्ट्रोङले टोरोन्टो एनएफसी, टोरोन्टोलाई ५–१ ले हराउँदै विजेता बन्न सफल भएको हो ।
त्यस्तै ब्रदरहुड एफसी, जिटिएले तेस्रो स्थान हासिल गर्यो । तेस्रो स्थानका लागि भएको खेलमा ब्रदरहुडले रोयल एफसीलाई शून्यका विरुद्ध २ गोलले हराउँदै तेस्रो स्थान हासिल गर्न सफल भएको हो ।
व्यक्तिगत विधातर्फ फाइनल खेलको म्यान अफ द म्याच स्ट्रोङका गोपाल क्षेत्री घोषित भए । उत्कृष्ट गोलरक्षक पनि स्ट्रोङ कै आशिष श्रेष्ठ चुनिंदा उत्कृष्ट प्रशिक्षकको पुरस्कार रोयलका मिलन खतिवडाले हात पारे ।
त्यस्तै फेयर प्ले पुरस्कार विजेता टोली स्ट्रोङ एफसीले हात पार्यो । सर्वाधिक गोलकर्ता स्ट्रोङका गोपाल क्षेत्री बन्दा प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी टोरोन्टोका रिवास प्रसाई घोषित भए ।
प्रतियोगिताको विजेता बनेको स्ट्रोङले उपाधिसहित नगद ६ हजार डलर हात पार्यो भने उपविजेता टोरोन्टोले ३ हजार डलरमा चित्त बुझायो । त्यसैगरी तेस्रो स्थान हासिल गरेको ब्रदरहुडले १५ सय डलर प्राप्त गर्यो ।