News दोभान, फुलबारी र सिद्धार्थ क्वाटरफाइनलमा
सुरज राना मगर

बुटवल । दोभान एफसी, आयोजक फुलबारी गाईज (सेतो) र सिद्धार्थ एफसी जारी तेस्रो रुपन्देही कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बुटवल–१७ रानीगंज स्थित स्थानीय खेलमैदानमा भएको पहिलो प्रिक्वाटरफाइनलतर्फ दोभानले न्यु इरा युथ क्लबलाई २–१ ले हरायो । दोभानका लागि नरेन्द्र श्रेष्ठ र सबिन रानाले गोल गरे । उता पराजित न्यु इराका लागि बिक्रम क्षेत्रीले गोल गरेका थिए । खेलमा दोभानका सबिन राना म्यान अफ द म्याच घोषित भए ।

दोस्रो प्रिक्वाटरफाइनलतर्फ आयोजक फुलबारी (सेतो) ले आहना एफसीलाई २–० ले हरायो । फुलबारीको जितमा कप्तान शरद क्षेत्री र निराजन खत्रीले एक–एक गोल गरे । खेलमा फुलबारीका शरद क्षेत्री म्यान अफ द म्याच समेत घोषित भए ।

त्यसैगरी तेस्रो प्रिक्वाटरफाइनलमा सिद्धार्थले आयोजक फुलबारी गाईज (निलो) लाई टाईब्रेकरमा हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल टाईब्रेकरतर्फ धकेलिएको थियो । टाईब्रेकरमा सिद्धार्थले ३–१ ले नतिजा आफ्नो पक्षमा पार्यो । खेलमा सिद्धार्थका गोलरक्षक बिशाल चौबे म्यान अफ द म्याच घोषित भए ।

फुलबारी गाईज, बुटवलको आयोजना तथा रानीगंज युवा क्लब, रानीगंजको सह–आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्ने खेल संयोजक यम सिंजालीले जानकारी दिए । फाइनल खेल यही असार २८ गतेका दिन हुनेछ ।

Post Comments