
काठमाडौं । शुक्रबार नै भएको रेलिगेशन भिडन्ततर्फ फ्रेण्डस क्लबले उत्कृष्ट जितका साथ रेलिगेशनबाट जोगिन सफल भएको छ भने अर्को नवप्रवेशी टोली एफसी खुमलटार भने रेलिगेशनमा परेको छ ।
दशरथ रंगशालामा भएको महत्वपूर्ण खेलमा फ्रेण्डसले अर्को रेलिगेशनको त्रासमा रहेको टोली एपिएफ फुटबल क्लब विरुद्ध ४–० को जित निकाल्यो । खेलमा शुरुवातबाटै आक्रमक बनेको फ्रेण्डसले पहिलो हाफमा दुई र दोस्रो हाफमा थप दुई गोल थपेको थियो ।
खेलको १५औं मिनटमा टोरिक जेब्रिनको गोलबाट फ्रेण्डसले खेलमा खाता खोलेको थियो । ३१औं मिनटमा बिकास थापाले त्यो अग्रता दोब्बर पारे । त्यस्तै ७१औं मिनटमा रफिक अमिनुले तेस्रो गोल गर्दा ८६औं मिनटमा अखरोरबेकले चौथो गोल गर्दै पाटने टोलीको जित पक्का गरेका थिए ।
यो जितपछि २६ खेलबाट ३० अंक जोडेको फ्रेण्डस रेलिगेशन क्षेत्रबाट बाहिर निस्किएको छ र जोगिन पनि सफल भएको छ । उता पराजित एपिएफको समान ३० अंक भए तापनि विभागीय टोलीलाई रेलिगेशनको त्रास भने कायम छ । र लिगको दोस्रो रेलिगेट हुने टोलीको टुंगो शनिबार हुने जावलाखेल युथ क्लब र थ्रीस्टार क्लबबीचको खेलबाट लाग्नेछ ।
खुमलटार रेलिगेशनमा
त्यस्तै यसै सिजन शिर्ष डिभिजनमा बढुवा भएको खुमलटार रेलिगेशनमा पर्ने पहिलो टोली बनेको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा खुमलटारले लिग च्याम्पियन चर्च ब्वाईज युनाइटेडसँग ०–२ को हार बेहोर्यो ।
खेल शुरु हुनु अघि खुमलटारले चर्च ब्वाईज विरुद्धको खेल वहिष्कार पनि गरेको थियो । रेलिगेशन भिडन्त कै रुपमा रहेको जावलाखेल र थ्रीस्टारबीचको खेल एकै दिन नखेलाएर शनिबार खेलाउने एन्फाको निर्णयप्रति खुमलटार रुष्ट बनेको थियो । यद्यपि खुमलटारले पछि सहमतिमा खेल्न राजी भएको थियो ।
चर्च ब्वाईजको जितमा खेलको १३औं मिनटमा सुशिल साह र पहिलो हाफ कै अतिरिक्त समयमा जोसेफ बेम्पाहले गोल गर्दै लिग च्याम्पियनको जित पहिलो हाफ मै पक्का गरेका थिए ।
यो नतिजापछि २६ खेलबाट ४८ अंकका साथ लिग च्याम्पियनका रुपमा चर्च ब्वाईजले सिजनको समापन गरेको छ । उता पराजित खुमलटार भने २७ अंकका साथ पुछार मै रहेर रेलिगेशनमा पर्न बाध्य बनेको छ ।