
काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ शुक्रबार १५औं चरणका दुई खेलहरु सम्पन्न भए । जसअन्तरगत एन्फा कम्प्लेक्स्मा भएको खेलमा एफसी खुमलटारले लिगलिडर जावलाखेल युथ क्लबमाथि ४–२ को सनसनीपूर्ण जित निकाल्यो ।
खेलको २०औं मिनटमा स्टेफन बिनङको गोलबाट खुमलटारले खेलमा अग्रता लिएको थियो । तर ४३औं मिनटमा रोहित सुब्बाले आत्मघाती गोल गर्दा जावलाखेल खेलमा फर्किएको थियो । लगतै पहिलो हाफ कै अतिरिक्त समयमा स्टेफनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई फेरि खेलमा अग्रता दिलाए । पहिलो हाफसम्म खुमलटारले २–१ कै अग्रता कायम पनि राख्यो ।
दोस्रो हाफको ५०औं मिनटमा स्टेफनले व्यक्तिगत तेस्रो र टोलीका लागि पनि तेस्रो गोल गर्दै आफ्नो ह्याट्रिक पनि पूरा गरे । उता खेलको इन्जुरी समयतर्फ ९०+२औं मिनटमा विपिन कंडेलले जावलाखेलका लागि दोस्रो गोेल फर्काए र टोलीलाई खेलमा फर्काउने झिनो आश पनि दिलाए ।
तर जावलाखेलको खेलमा फर्कने त्यो आशले पूर्णता पाउन सकेन । दोस्रो गोल खाएको तीन मिनट लगतै मेस्के ओलुमुले खुमलटारका लागि चौथो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
लिगको १५औं मिनटमा पाँचौं जित हात पारेको खुमलटार १७ अंकका साथ ११औं स्थानमा पुगेको छ । उता पराजित जावलाखेल भने २४ अंकका साथ शिर्ष स्थान मै यथावत छ । तर जावलाखेलको त्यो शिर्षता अब धेरैबेर नहरने लगभग निश्चित छ ।
शुक्रबार नै दशरथ रंगशालामा भएको अर्को खेलमा हिमालयन शेर्पा क्लबले नेपाल पुलिस क्लबमाथि २–१ को जित निकाल्यो । खेलको १४औं मिनटमा आबायोमी फाकुन्लेको गोलबाट शेर्पाले खेलमा अग्रता लिएको थियो । यद्यपि ३०औं मिनटमा सौजन राईले पुलिसका लागि बराबरी गोल फर्काएका थिए ।
पहिलो हाफसम्म १–१ को बराबरी खेलेका दुवै टोलीले दोस्रो हाफमा भने शेर्पाले फेरि अग्रता बनायो । ५०औं मिनटमा अमृत श्रेष्ठले शेर्पाका लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
यो नतिजापछि १५ खेलबाट २० अंक जोडेको शेर्पा लिगतालिकाको सातौं स्थानमा उक्लेको छ । पराजित पुलिस भने १५ अंकका साथ फेरि रेलिगेशन क्षेत्रको १३औं स्थानमा खस्केको छ ।