
पोखरा । नयाँ सिजनका लागि केही चर्चित खेलाडीहरुलाई अनुवन्ध गरेर राम्रो सम्भावना देखाएको संकटा क्लब जारी २२औं आहा! रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा साविक विजेता एपिएफ क्लबमाथि ४–१ को प्रभावशाली जित निकाल्दै संकटा उपाधि नजिक पुगेको हो । खेलको शुरुवाततिरै एपिएफको गल्तीको फाईदा उठाउँदै स्टेफन बिनङले संकटाका लागि पहिलो गोल गरे । ४२औं मिनटमा मेसुके ओलुमुले त्यो अग्रता दोब्बर बनाए ।
खेलमा अधिकांश समय आफ्नो पकड बनाएको संकटाका लागि ६१औं मिनटमा स्टेफनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल थपे । उता ७४औं मिनटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका हरि कार्कीले एपिएपका लागि गोल गर्दै टोलीलाई खेलमा फर्काउन प्रयास गरे तर सफल भएनन् ।
खेलको अन्तिमतिर ८६औं मिनटमा मेसुकेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै संकटाको उत्कृष्ट जित र फाइनल यात्रा पक्का गरेका थिए । खेलमा संकटाका स्टेफन बिनङ म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तरगत पौष २१ गते बिहीबारको दोस्रो सेमिफाइनल बीवाइएससी, मिनेसोटा (अमेरिका) र चर्च ब्वाईज युनाइटेडएफसीबीच हुने आयोजकले जानकारी दियो ।
सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि पौष २३ गतेका दिन हुनेछ ।
- गण्डकी प्रदेश लिगः एलजी एसोसिएशन र हरमटारीको जित
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने