
काठमाडौं । यसै वार्षको डिसेम्बरमा अरब राष्ट्र कतारमा आयोजना हुन गईरहेको फिफा बिश्वकपको प्रत्यक्ष प्रसारण नेपालमा बिभिन्न टेलिभिजन माध्यमहरुबाट मिडिया हबले देखाउने भएको छ । शनिबार आयोजित एक कार्यक्रमका बीच प्रसारण अधिकार पाएको मिडिया हबले सो कुराको जानकारी गराएको हो ।
कार्यक्रममा कम्पननीका अध्यक्ष सोम प्रसाद धितालले कतार विश्वकप नेपालको भू–सतही, स्याटलाइट, डि.टि.एच, केबल, ब्रोडब्याण्ड एवं मोबाइल तथा अन्य विद्युतिय प्रसारणको एकाधिकार बाट प्राप्त गरी सकेको बताए । साथै नेपालमा यस वर्ष हुने फिफा विश्वकपको लोगो र मस्कट प्रयोग, प्रशारण, प्रायोजन र प्रतिलिपीको सम्पूर्ण अधिकार मिडिया हब प्रा. लि.मा मात्रै सिमित रहेको समेत जानकारी गराइयो ।
सो कार्यक्रममा टेलिभिजन सिग्नल प्रदायक संस्थाहरु एनआईटिभी स्ट्रीम्ज् र भायानेट कम्युनिकेशन्स प्रा.लि.संग पनि सहकार्यको लागि छुट्टा–छुट्टै सम्झौतामा हस्ताक्षर भयो । दुबै संस्थाहरुसँग गरिएको सम्झौतामा मिडिया हबका तर्फबाट कम्पनीका अध्यक्ष सोम प्रसाद धितालले हस्ताक्षर गरे भने भायानेट कम्युनिकेशन्स प्रा.लि.का तर्फबाट कम्पनीका निर्देशक बिनय बोहरा तथा एनआईटिभी स्ट्रीम्ज् तर्फबाट कम्पनीका अध्यक्ष मनोज कुमार अग्रवालले हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौता अनुसार उपरोक्त दुई कम्पनी मार्फत टेलिभिजन लाईन लिएका नेपाली दर्शकहरुले अब बिश्वकप फुटबलको प्रत्यक्ष प्रशारण हेर्न सक्ने पक्का पक्की भएको छ । त्यसैगरि बिज्ञापन बिक्री प्रबन्धको लागि एडप्याड एक्युजिशन प्रा.लि. मार्केटिग पार्टनर रहने गरी अर्को छुट्टै सम्झौतामा दुबै कम्पनीका तर्फबाट हस्ताक्षर सम्पन्न भयो ।