
तिलोत्तमा । कठिन जित निकाल्दै पूर्व विजेता वालिङ युनाइटेड, स्याङ्जा जारी स्व. डिम बहादुर गुरुङ स्मृति २०औं लिस्नु कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार सम्पन्न प्रिक्वाटरफाइनलतर्फ वालिङले अर्को पूर्व विजेता नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपललाई २–१ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
कोटिहवा स्थित श्री पशुपति माविको खेलमैदानमा सम्पन्न खेलमा शुरुवाती अग्रता भने नवयुवाले लिएको थियो । ३४औं मिनटमा दानु थापा क्षेत्रीले नवयुवाका लागि पहिलो गोल गरे ।
यद्यपि दोस्रो हाफमा वालिङ खेलमा फर्कियो । दोस्रो हाफको चौथो मिनट मै विश्वास श्रेष्ठले सुन्दर फ्रिकिकबाट वालिङका लागि बराबरी गोल फर्काए । लगतै ५३औं मिनटमा टिकाराज गुरुङले निर्णायक गोल गर्दै वालिङलाई रोमाञ्चक जित दिलाए ।
खेलमा पराजित नवयुवाका कर्मा शेर्पा म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ३ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत भदौ २५ गते शनिबारको अन्तिम प्रिक्वाटरफाइनल खेल आयोजक लिस्नु युवा क्लब र पाल्पा–११ बीच हुनेछ ।
लिस्नु युवा क्लब, कोटिहवाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल असोज ३ गतेका दिन हुनेछ ।