News आवासको दुई गोलसँगै सगरमाथा सेमिफाइनलमा
गोलनेपाल

इटहरी । सगरमाथा युथ क्लब, मोरङ यहाँ जारी कन्ट्रोल १२औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा भर्खरै जितपुर सिमरा गोल्डकप जितेको ए डिभिजन क्लब न्युरोडटिम (एनआरटी) लाई शून्यका विरुद्ध ३ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

इटहरी रंगशालामा भएको खेलको तेस्रो मिनट मै आवास लामिछानेले सगरमाथाका लागि गोलको खाता खोलेका थिए । दोस्रो हाफतर्फ ७०औं मिनटमा प्रदिप लामाले त्यो अग्रता दोब्बर पारे । लगतै ७४औं मिनटमा आवास लामिछानेले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै सगरमाथाको सेमिफाइनल यात्रा पक्का गरे ।

खेलमा सगरमाथाका आवास लामिछाने म्यान अफ द म्याच घोषित भए । उनलाई विशेष अतिथी सुन्दर हरैचा नगरपालिकाका मेयर शिव ढकालले नगद १० हजार र ट्रफीका साथ पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत चैत्र २३ गते बुधबारको पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौं र रोलिङ क्लब, झापाबीच हुने आयोजकले जनाएको छ ।

राष्ट्रिय जागृति क्लब, इटहरी सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र २६ गतेका दिन हुनेछ ।

Post Comments