
फर्साटिकर । रोमाञ्चक जित हात पार्दै कपिलवस्तु–११ यहाँ जारी शुद्धोधन गाउँपालिका नवौं फर्साटिकर कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
फर्साटिकर उच्च माविको खेलमैदानमा भएको तेस्रो क्वाटरफाइनलमा कपिलवस्तुले रुपन्देहीको लिग च्याम्पियन सुनौलो संगम युवा क्लबलाई ३–२ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
खेलको २५औं मिनटमा राजिव लोप्चनको गोलबाट अग्रता बनाएको सुनौलोले त्यसलाई पहिलो हाफ मै गुमाउन पुग्यो । ४२औं मिनटमा सुर्य थापाले कपिलवस्तुका लागि बराबरी गोल फर्काए ।
त्यस्तै दोस्रो हाफको सातौं मिनटमा सन्जु सेनले गोल गर्दै कपिलवस्तुलाई २–१ को स्थितिमा ल्याए । ८४औं मिनटमा निराजन खत्रीले कपिलवस्तुका लागि तेस्रो गोल थपे र टोलीको निर्णायक जित पक्का गरे ।
खेलको अन्तिमतिर इन्जुरी समयमा राजिव लोप्चनले सुनौलोका लागि दोस्रो गोल गरे तापनि टोलीलाई खेलमा फर्काउन सकेनन् । लोप्चनले दोस्रो हाफ मै पाएको पेनाल्टीको अवसरलाई पनि सदुपयोग गर्न नसक्दा सुनौलोले खेलमा फर्कने सुनौलो अवसर पनि गुमाएको थियो ।
खेलमा कपिलवस्तुका गोलरक्षक दिपक राना म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत चैत्र २० गतेको अन्तिम क्वाटरफाइनल खेल आयोजक फर्साटिकर युवा क्लब (रातो) र कालिका स्पोर्टस एकेडेमी, चितवनबीच हुने आयोजकले जनाएको छ ।
फर्साटिकर युवा क्लब, सुद्धोधन ४, फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख २५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मुकेश कुँवरले बताए । फाइनल खेल यहि चैत्र २६ गतेका दिन हुनेछ ।