News एन्फा र रेफ्रीबीच सहमति, रेफ्रीहरुको राजिनामा पनि फिर्ता
गोलनेपाल

काठमाडौं । फिटनेस टेष्टलाई लिएर चुलिएको अखिल नेपाल फुटबल संघ (एन्फा) र रेफ्रीहरुबीचको विवाद सहमतिमा पुगेर टुंगिएको छ । एन्फाले रेफ्रीहरुका लागि अनिवार्य गरेको फिटनेस टेष्ट तत्कालका लागि स्थगित गरेपछि दुवै पक्षबीच सहमति बनेको हो ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र रेफ्री प्रमुख गोकुल थापाबीच सहमतिसँगै फिटनेस टेष्ट पनि तत्कालका लागि स्थगित गर्ने सहमति बनेपछि सामूहिक राजिनामा दिएका रेफ्रीहरुले पनि आफ्नो राजिनामा फिर्ता लिएका छन् ।

सहमति अनुसार अब एन्फाले लिने भनिएको फिटनेस टेष्ट रेफ्रीहरु अफ ड्युटी अर्थात लिग वा अन्य प्रतियोगितामा व्यस्त नभएको दिनलाई पायक पारी लिने सहमति बनेको छ । यद्यपि फिटनेस टेष्ट अब कहिले लिने हो, त्यसबारे भने अहिले नै मिति नतोकिएको बुझिएको छ ।

स्मरण रहोस, यसअघि एन्फाले वार्षिक रुपमा रेफ्रीहरुको फिटनेस टेष्ट गर्दै आए तापनि रेफ्री निर्देशक गौतम कौरको आगमनसँगै सो फिटनेस टेष्ट तीन–तीन महिनामा हुँदै आएको थियो । सोही फिटनेस टेष्टलाई अहिले अनिवार्य गरेर लिग कै बेला गर्नुपर्ने एन्फाले अडान लिएपछि असन्तुष्ट रेफ्रीहरुले एन्फा अध्यक्षलाई पत्र लेखी बिहीबार सामूहिक राजिनामा दिएका थिए ।

अब यो सहमति बनेसँगै शुक्रबारदेखि शुरु हुने तय भएको शहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणको खेलहरुमा पनि रेफ्रीहरुको सक्रिय भूमिका रहने पक्का भएको छ । यसअघि रेफ्रीहरुले राजिनामा बुझाउँदा लिग पनि नखेलाउने घोषणा गरेका थिए ।

 

Post Comments