
काठमाडौं । देश कै प्रतिष्ठित लिग कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको प्रसारण अधिकार कान्तिपुर टेलिभिजनले पाएको छ ।
बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) र कान्तिपुर पब्लीकेशन बीच एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर र आदान प्रदान भयो । तिनकुने स्थित कान्तिपुर पब्लीकेशनको कार्यालयमा भएको सम्झौता कार्यक्रममा एन्फाका तर्फबाट महासचिव इन्द्रमान तुलाधर तथा कान्तिपुरको तर्फबाट प्रमुख मार्केटिङ अफिसर गौरी शंकर दहालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सो अवसरमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कान्तिपुरका सुरज सिंह ठकुरीको पनि उपस्थिति रहेको थियो । स्मरण रहोस, एन्फाले बिहीबार नै प्राविधिक कारण जनाउँदै यहि कार्तिक २९ गतेदेखि हुने भनिएको लिग मंसिर ३ गतेदेखि शुरु हुने जानकारी दिएको थियो ।
कुल १४ टोलीहरुले सहभागिता जनाउने लिगको उद्घाटन खेलमा नव आगन्तुक टोली सातदोबाटो युथ क्लब र फ्रेण्डस क्लब भिड्ने तय भईसकेको छ । त्यस्तै एन्फाले यस सिजन लिगका खेलहरु प्रत्येक सप्ताहन्तमा हुने पनि जानकारी दियो । एन्फाका अनुसार लिगका खेलहरु प्रत्येक साताको शुक्रबार, शनिबार र आइतबारका दिन हुने छन् ।
करिब ४ महिना चल्ने लिगको विजेताले उपाधिसहित नगद ७५ लाख हात पार्नेछ भने उपविजेताले ५० लाख प्राप्त गर्तेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि २५ लाख पाउने एन्फाले यसअघि नै घोषणा गरिसकेको छ । गत संस्करणको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको थियो ।