
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुला अल्ुमतारीले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग आधिकारिक रुपमै नयाँ सम्झौता गरेका छन् ।
मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि अब्दुला र एन्फाका तर्फबाट मधुसुदन उपाध्यायले सम्झौतापत्रमा हस्ताक्षर गरे । नयाँ सम्झौतासँगै कुवेती प्रशिक्षक अब्दुलाले नेपाली फुटबल टोलीको जिम्मेवारी आगामी सन् २०२४ सम्म सम्हाल्ने भएका छन् ।
स्मरण रहोस, हालै सम्पन्न प्रतिष्ठित १३औं साफ च्याम्पियनसिपको फाइनलमा पहिलोपटक नेपाललाई पुराएका अब्दुलाले साफ लगतै परिवारलाई समय दिन र आराम गर्न स्वदेश फर्किएका थिए । साथै अक्टुबर २२ तारीखका दिन उनको एन्फासँगको सम्झौता पनि सकिएको थियो ।
त्यसपछि कतारमा भएको अब्दुला, एन्फा अध्यक्ष तथा कतार फुटबल संघका पदाधिकारीहरु बीचको त्रीपक्षीय छलफल पश्चात प्रशिक्षक अब्दुलाले एन्फासँगको आफ्नो सम्झौता नवीकरण गर्न सहमत भएका थिए ।
राम्रो खेलाडी छनौट गरि राम्रो टिमसँग खेल्ने योजना
पत्रकार सम्मेलनमा प्रशिक्षक अब्दुलाले यहि महिना शुरु हुन गईरहेको शहिद स्मारक ए डिभिजन लिगबाट राम्रा खेलाडीहरुलाई छनौट गर्ने योजना रहेको खुलाए । उनले चोटिल खेलाडीहरुलाई टिममा समावेश गर्दा समस्या पर्ने बताउँदै लिगबाट उत्कृष्ट प्रदर्शन खेलाडीहरुलाई छानेर राम्रो टिम तयार पार्ने बताए ।
उनले पत्रकार सम्मेलन मै फिफा इन्टरनेशनल ब्रेकमा राम्रो र बलियो टोलीहरुसँग अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याच खेल्ने पनि बताए । साथै उनले केही देशहरुसँग खेल्ने तय भइसकेको बताए पनि नाम भने खुलाएनन् । तर अब्दुलाका अनुसार यसपटक इराक भन्दा राम्रा टिमहरुसँग नेपालले खेल्ने दावी गरे ।
त्यति मात्र नभएर उनले नेपालको उमेर समूहको विभिन्न राष्ट्रिय फुटबल टोली र महिला फुटबल टोलीमा पनि सकरात्मक परिवर्तन गर्ने योजना रहेको बताए ।