News झापा एफसी उपाधि नजिक
गोलनेपाल

केराबारी । झापा एफसी यहाँ जारी प्रथम स्व. राजु सोदेन स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा फेयर एफसीलाई टाईब्रेकरमा ४–२ ले हराउँदै झापा उपाधि नजिक पुगेको हो ।

त्यसअघि केराबारी–८ मोरङ स्थित प्रस्तावीत केराबारी रंगशालामा भएको निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निर्णय पेनाल्टीबाट लिइएको थियो । पेनाल्टीमा भने झापा सफल बन्यो । खेलको म्यान अफ द म्याच झापाका गोलरक्षक विप्लप गुरुङ घोषित भए ।

नेपाल कै पहिलो प्राईभेट फुटबल क्लब समेत रहेको झापाको यो पहिलो घरेलु फाइनल पनि हो । प्रतियोगिता अन्तरगत कार्तिक १३ गते शनिबारको दोस्रो सेमिफाइनल खेल इटहरी एफसी र टेन नवोदय एफसीबीच हुने आयोजकले जनाएको छ ।

यहि कार्तिक १५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments