
त्रिवेणी । दोस्रो त्रिबेणी दुम्किबास जनता मार्ग कप नकआउट फुटबल प्रतियोगिताको उपाधि बि. पि. स्मृति युवा क्लब, माकरले जित्न सफल भएको छ । फाइनलमा शहरी प्रतिद्वन्द्वी आयोजक आशा स्मृति युवा क्लबलाई ४–० को फराकिलो अन्तरले हराउँदै बि. पि. स्मृति, माकर च्याम्पियन बनेको हो ।
बिनय त्रिबेणी वडा न ६ साहुमाराको खेलमैदानमा सम्पन्न कडा र प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा बि.पि. स्मृति माकरका लागि रोहित थापा, एलिन मगर, सुरज आले र मनिष चौधरी समान एक–एक गोल गर्दै टोलीलाई विजेता बनाउन अहम भूमिका खेले ।
फाइनल खेलको म्यान अफ द म्याच पनि बि.पि. स्मृति माकरका लाल मगर घोषित भए । विजेता बनेको बि.पि.स्मृति युवा क्लब माकरले उपाधिसहित नगद १ लाख हात पार्यो भने उपविजेता आयोजक टोलीले ५० हजारमा चित्त बुझाउन बाध्य भयो ।
त्यस्तै व्यक्तिगत विधातर्फ प्रतियोगिता कै उत्कृष्ट गोलरक्षक विजेता टोली बि.पि.स्मृति माकरका सुमन भण्डारी चुनिए भने सर्वाधिक गोलकर्ता बि.पि.स्मृति माकर कै कप्तान सनम सारुमगर घोषित भए । त्यसैगरि उत्कृष्ट डिफेन्डर आयोजकका एरन गुरुङ चुनिए भने उत्कृष्ट मिडफिल्डर पनि आयोजक कै सन्देश थापा घोषित भए ।
बिनय त्रिबेणी गाउँपालिकाको कार्यालय, बर्दघाट सुस्ता पुर्बको आर्थिक सहयोग र आशा स्मृति युवा क्लब साहुमाराको आयोजनमा यहि बैशाख ४ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता रहेको खेलकुद समिति सचिव पिकोल थापाले बताए ।
विजयी खेलाडीहरुलाई एक कार्यक्रमका बीच प्रमुख अतिथी बिनय त्रिबेणी–१ का वडाध्यक्ष अजित थापा, सशस्त्र प्रहरी बल त्रिबेणीका ईन्चार्ज सन्तोष थापा, आयोजक आशा स्मृति युवा क्लबका अध्यक्ष चेत बहादुर सारु लगायत अन्य अतिथीहरुले पुरस्कृत गरेका थिए ।