
पोखरा । १९औं आहा! रारा गोल्डकपको इतिहास मै पहिलोपटक फाइनल पुगेको संकटा क्लबले पहिलो फाइनल मै उपाधि समेत जित्न सफल भएको छ ।
घरेलु फुटबलमा हाल एकक्षत्र प्रभाव जमाईरहेको अफ्रिकन रुटस एसोसिएशन, क्यामरुनलाई टाईब्रेकरमा ४–२ ले हराउँदै संकटाले शनिबार ऐतिहासिक सफलता हात पारेको हो ।
त्यसअघि पोखरा रंगशालामा सम्पन्न निर्धारित समय र अतिरिक्त समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए खेलमा शुरुवाती अग्रता भने अफ्रिकनले लिएको थियो ।
खेलको ११औं मिनटमै बासेकको गोलबाट शुरुवाती अग्रता बनाएको अफ्रिकनले त्यसलाई पहिलो हाफसम्म मात्र जोगाउन सक्यो । दोस्रो हाफमा रणनीति परिवर्तन गरेको संकटाका लागि ५२औं मिनटमा जोन ग्लोरीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
टाईब्रेकरमा भने संकटाका लागि अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत र आयुष घलानले गरे । कप्तान सरोज दहाल भने गोल गर्नबाट चुकेका थिए । उता अफ्रिकनका लागि यानिक र रिमले मात्र गोल गर्न सके ।
फाइनल खेलको म्यान अफ द म्याच संकटा क्लबका गोलरक्षक राजाबाबु थापा घोषित भए । विजेता बनेको संकटाले उपाधिसहित नगद १० लाख १ हजार हात पार्यो भने उपविजेता अफ्रिकनले ५ लाख १ हजारमा चित्त बुझायो ।
सहारा क्लब, पोखराको आयोजनामा यहि चैत्र २१ गतेदेखि शुरु प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।