
आयोजक बाग्मती युवा क्लबमाथि हाबी हुँदै पाहुना टोली भारत सिलिगुडीको कञ्चनजंघा एफसी यहाँ जारी पाँचौ राजर्षि जनक कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा सोमबार भएको खेलमा आयोजक बाग्मती युवा क्लबलाई १-० गोलअन्तरमा स्तब्ध पार्दै पाहुना टोली कञ्चनजंघाले बाजी मारेको हो । कञ्चनजंघाका लागि अनमोल दाहालले निर्णायक गोल गरेका थिए ।
घरेलु दर्शकको समर्थन पाए पनि स्कोर हुन नसक्दा निरस बन्न पुगे । एकपछि अर्को आक्रमण बुनिरहेको कञ्चनजंघाका लागि अनमोल दाहालले खेलको २१औँ मिनेटमा आकर्षक गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।
खेलको दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरे पनि बाग्मतीका खेलाडीले दर्शकको मन भने जित्न सकेनन् । यसैबीच, संघर्षका क्रममा दुवै टिमका खेलाडी घाइते हुन पुगे । बाग्मतीका सागर शाही र कञ्चनजंघाका राम राई घाइते भएपछि उनीहरुलाई थप उपचारका लागि हस्पिटल लगिएको थियो ।
खेलको म्यान अफ दी म्याच कञ्चनजंघाका सन्दिप लिम्बू घोषित भए । उनलाई हरिकृष्ण इण्डस्ट्रिजका व्यवस्थापक भगवान सापकोटाले नगद १० हजार र ट्रफी प्रदान गरे । यसैबीच, एक्साइटिङ फ्यान अफ दी म्याचको रुपमा स्थानीय फुटबलप्रेमी बालक मिजेन लामा चुनिए । राष्ट्रिय झण्डा फहराएर खेल हेरेका उनलाई खल्ती एपको तर्फबाट नगद २ हजार प्रदान गरियो ।
बाग्मती युवा क्लब र बाग्मती नगरपालिकाको संयुक्त आयोजनामा भएको प्रतियोगितामा विदेशी २ टोलीसहित १० टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १० लाख एक हजार पाउँदा उपविजेताले नगद ५ लाख ५ सय र ट्रफीमा चित्त बुझाउनु पर्नेछ ।
मंगलबारको खेल नव जागृति युवा क्लब सिमरा र सुदूरपश्चिम ११, सुदूरपश्चिबीच खेल हुनेछ ।