
सुस्ता । तिलकाना युवा क्लब, सुनवल यहाँ जारी प्रथम सुस्ता अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
फाइनल प्रवेश गर्ने क्रममा तिलकानाले मायादेवी युवा क्लब, खैरेनीलाई टाईब्रेकरमा ४–२ ले हरायो । त्यसअघि सुस्ता–४ नरसही स्थित स्थानीय खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
खेलमा तिलकानाका गोलरक्षक सैलेश शाही म्यान अफ द म्याच घोषित भए । उनलाई सुस्ता गाउँपालिकाका अध्यक्ष श्रीराम प्रसाद पाण्डेले पुरस्कृत गरेका थिए ।
प्रतियोगिता अन्तरगत चैत्र १८ गते बुधबारको दोस्रो सेमिफाइनल खेल पृथ्वी युवा क्लब, बर्दघाट र देउराली फोर ब्रदर्श, सुनवलबीच हुने खेल संयोजक धिरज गुरुङले जानकारी दिए ।
सुस्ता गाउँपालिकाको कार्यालय, नवलपरासीको आयोजना तथा एकता युवा क्लब र जरलैया युवा क्लबको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्ने संयोजक गुरुङले बताए । फाइनल खेल भने यहि चैत्र २० गतेका दिन हुनेछ ।