
हेटौंडा । बागमती युवा क्लब, सर्लाही मकवानपुरको बागमती गाउँपालिकामा जारी चौथो वागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको दोस्रो क्वाटरफाइनलतर्फ बागमतीले शेर्पाको चुनौति ३–२ ले पन्छाउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । बागमती गाउँपालिकाको फापरबारी स्थित जनता माविको खेल मैदानमा सम्पन्न खेलको २७औं मिनटमा स्टेफन समिरको गोलबाट बागमतीले खेलमा अग्रता बनाएको थियो । ३२औं मिनटमा बिमल घिसिङले त्यो अग्रता दोब्बर पारे ।
यद्यपि उता ४८औं मिनटमा शेर्पाका लागि बर्तमान राईले पहिलो गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर लगतै ५६औं मिनटमा म्याक्सवेलले बागमतीका लागि तेस्रो गोल थपे । जुन खेलको निर्णायक गोल पनि बन्यो । त्यस्तै शेर्पाका लागि ६०औं मिनटमा सुजन थापा मगरले थप एक गोल फर्काए तापनि टोलीको हार भने टार्न सकेनन् ।
खेलमा बागमतीका बिमल घिसिङ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत चैत्र १८ गते बुधबारको तेस्रो क्वाटरफाइनल खेल जावलाखेल युथ क्लब र नव जनजागृति युवा क्लब, सिमराबीच हुने आयोजकले जनाएको छ ।
बागमती गाउँपालिका खेलकुद विकास समिति, मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल खेल भने चैत्र २३ गतेका दिन हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा